बारा । बाराको जीतपुरसिमरा गोल्डकपको १५औं संस्करण चैत २२ गतेदेखि सुरु हुने भएको छ । मोफसलकै प्रतिष्ठित फूटबल प्रतियोगिता व्यवस्थापन बारे आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
एनसेलद्धारा सञ्चालित प्रतियोगिता सफल पार्न तथा दर्शकको उत्साहपूर्ण सहभागिता जुटाउन सिमराका युवा व्यवसायीहरु जुटेको संघका कार्यबाहक अध्यक्ष शम्भु खड्गीले बताएका छन् । आयोजक क्लबबाटै खेलयात्रा सुरु गरेका हाल अष्ट्रलियामा व्यवसायिक खेल जिवन बिताईरहेका खेलाडि देखि स्थानिय युवा व्यवसायिले समेत यो संस्करणका लागि महत्वपूण सहयोग गरेको उनले बताए ।
सिमरा रंगशालामा आयोजना हुने प्रतियोगितामा यसपटक आयोजक टिम सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी गराए । उनका अनुसार प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, साविक उपविजेता मछिन्द्र फूटबल क्लबसहित फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा र हानामी बिएफसी चितवनको सहभागिता रहनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगी रहेको प्रतियोगिताको उपाधी विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । सिमरामा रहेको भिएक्सएल एजुकेशनको प्रायोजनमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इलेक्ट्रोनिक्स स्कुटर प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट गोलरक्षकलाई केटीएम कन्सल्टिङ, उत्कृष्ट प्रशिक्षकलाई केएनडी लेबर सप्लायर र सर्वाधिक गोलकर्तालाई ग्रेस ईन्टरनेशलले जनही २५ हजार उपलब्ध गराउने अध्यक्ष लामाले बताए । प्रतियोगिताको उदयीमान खेलाडीका लागि हाल अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी रवी पासवानले उपलब्ध गराउने १५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई जनही १० हजार नगदले पुरस्कृत गरिनेछ ।
यसैगरी प्रत्येक खेलको प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई ग्रिन इनर्जी नेपालले प्रायोजन गर्नेछ । उक्त संस्थाका संचालक युवा व्यवसायी शैलेस शाह ठकुरीले खेलाडीको हौसला बढाउन र प्रतियोगिता सफल बनाउन आफूले सहयोग गरेको बताएका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघले प्रतियोगिता अवधीभर फुड फेस्टिभल र सेमिफाइन हुने दुई साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेछ । संघका कार्यबाहक अध्यक्ष शम्भु खड्गीले राष्ट्रिय कलाकार सहितको साँस्कृतिक कार्यक्रम दर्शकले खेलकै टिकटमा हेर्न तथा फूड फेस्टिभलको आनन्द लिने वातावरण बनाउन लागिपरेको बताए ।
टिकेटिङ पार्टनरको रुपमा रहेको सुरक्षा मोबाइलले टिकट काटेर खेल हेर्ने दर्शकमध्ये हरेक दिन एक जनालाई स्मार्ट घडी उपलब्ध गराउने तथा सिमरा रोडमा रहेको हिमालयन कफी सप र ए.के. सप्लायर्सले आकर्षक उपहार प्रदान गर्ने घोषणा गरेका छन् ।
ज्येष्ठ नागरिक र अपांगता भएका दर्शकका लागि आरक्षण सिटसहित निःशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनमा सहजतता होस् भन्ने हेतुले रंगशालामा २ वटा फ्लड लाइटको व्यवस्था सूर्य नेपाल प्रा.लि.गरिदिएको तथा हुलास स्टील, नेपोभिट टायल्स, सगरमाथा इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्री, एलएस न्यूरो अस्पताल, स्टार अस्पताल, सुसप्त मेडिकललगायतले सहयोग गरेका छन् ।
टिकट किनेर खेल हेर्ने बानीको विकास गर्नका लागि आयोजकले एनजेजेवाइसि फ्यान जर्सि विक्रि गर्ने र त्यो जर्सि लगाएर आउने दर्शकले टिकट किन्नु नपर्ने व्यवस्था गरेको छ । खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कमले गर्नेछ भने मिडिया पर्टनरको रुपमा नेपाल खेलकुद पत्रकार मञ्च रहेको छ ।