वीरगन्ज । दुबइमा होली पर्व मनाइएको छ । यूएइको बरदुबईमा गैरआवासीय मधेसी संघले होली मिलन कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले होली मिलन कार्यक्रमको सम्बोधन गर्दै विदेशमा रहेका नेपाली युवाहरुलाई निराश हुन जरुरी नरहेको ढाडस दिएका छन् ।
उनका अनुसार मधेसमा जे सपना बाँडिएको थियो, त्यो हामी पूरा गर्ने प्रयत्नमा छौ । उनी भन्छन्, ‘हामी जे सपना देखाएका छौं, त्यो क्रमिकरुपमा पूरा भइरहेको छ । बाँकी पनि पूरा गर्नेछौं । सबै सपना साकार गर्छौ ।’
उनका अनुसार राजनीतिकमा उतारचढाव हुन्छ । तर त्यसबाट निराश हुन जरुरी नरहेको उनको प्रष्टोक्ति छ ।
‘होली मिलन कार्यक्रम रंगको पर्वको हो, उनी भन्छन्, ‘यसले जीवनमा आनन्द लिन सिकाउँछ, त्यसकारण तपाईँहरु जहाँ हुँदा जे गर्दा पनि उत्सव मनाइरहनुहोला ।’
यसको साथै विदेशमा रहँदा परिवारसंग नियमित सम्पर्कमा रहन उनले दुबइमा रहेका मधेसी युवाहरुलाई आग्रह गरेका थिए ।
गैरआवासीय मधेसी संघद्वारा आयोजित मधेसी मिलन तथा होली कार्यक्रम बरदुबइमा सम्पन्न भएको छ ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य संजयकुमार कर्ण, जगनारायण मण्डल, दुबइस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीसहितको सहभागीता थियो ।
सहभागीहरुले आपसी एकता, सद्भाव, सांस्कृतिक पहिचानलाई उजागर गर्दै लैजानुपर्ने जरुरी रहेको औल्याएका थिए । कार्यक्रममा दुबइ तथा आसपासका मधेसी समुदायको व्यक्तिहरुको भव्य सहभागीता रहेको थियो ।
गैरआवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष एवम् यूएइ इन्चार्ज सदाम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीकान्त गुप्ताले सहजीकरण गरेका थिए ।