काठमाण्डौँ । युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर गौशालामा एक युवकमाथि लुटपाट भएको छ । लुटपाटको आरोपमा प्रहरीले पर्साका दुइसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्जको महानगरपालिका वडा नम्बर ३२ निवासी परवेश अन्सारी, सोही ठाउँका नजमुद्दिन अन्सारी, गोरखा नगरपालिका वडा नम्बर १३ बस्ने जनेद हुसेन र चितवनको पिप्ले बस्ने रश्मी क्षेत्री छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले २४ माघको राति साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई लुटपाट गरेको आरोप छ ।
युवती प्रयोग गरी गेस्टहाउस जाने भन्दै भन्दै एकान्त स्थानमा लगेर केटाहरु बोलाई लुटपाट गरेको प्रहरीले जनाएको छ । ती युवकको मोबाइल, पर्स, घडी यो समूहले लुटेर लगेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको जनाइएको छ ।