धनुषा । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचारीलाई जन्मकैदसम्मको सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख मण्डलले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको तीन पुस्ते सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारीलाई जन्मकैदसम्मको सजायको व्यस्था हुनुपर्ने जनाए ।
भ्रष्टाचारीलाई केहि वर्षको मात्र जेल सजाय दिदाँ उनीहरु नडराउने बताउँदै सभामुख मण्डलले जन्मकैद सजायको कानुनी व्यवस्थाको आवश्यक रहेको औल्याए । भ्रष्टाचारले समाजमा असमानता तथा द्धन्द्धको भावना उजागर गरेको उनको भनाइ थियो ।
उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेलले भ्रष्टाचार मौलाउनुको कारणहरु पत्ता लगाएर सोही बमोजिम अघि बढ्नुपर्ने धारणा राखे ।
अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङको अध्यक्षतामा कर्यक्रम आयोजना गरिएको थियो ।