काठमाण्डौँ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले श्रम स्वीकृति लिएर भारतको विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने जनाएको छ । राजदूतावासले एक सूचना जारी गर्दै यस्तो बताएको छ ।
श्रम स्वीकृति भएका नेपालीलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य मुलुक जानको लागि एनओसी नचाहिने व्यवस्था गरिएको दूतावासको भनाइ छ ।
यूएसए, यूके तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी नचाहिने दूतावासले जनाएको छ ।
रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने दूतावासले जनाएको छ । पछिल्लो समय हवाई सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय हवाई भाडामा चर्को वृद्धि गरेका छन् ।
मेनपावर व्यवसायीहरूले त्यसको विरोध गर्दै भारतको बाटो हुँदै जाँदा आवश्यक पर्ने एनओसी खारेज गर्न माग गर्दै आएका थिए । सोही आधारमा दूतावासले तत्कालका लागि एनओसी नचाहिने व्यवस्था गरेको हो ।