सप्तकोशी नदीमा डुबेर २ बालिकाको मृत्यु, १ जना बेपत्ता

सप्तरी । सप्तकोशी नदीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ भने एक जना बालिका बेपत्ता भएकी छन् ।

नदीमा नुहाउने क्रममा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ सप्तकोशी नदीमा दिउँसो करीब १ बजेको समयमा नुहाउन गएकी स्थानीय ५ जना बालिका केराको बोटबाट बनाएका डुङ्गाबाट चिप्लिएर पानीमा बेपत्ता भएका थिए ।

उनीहरुमध्ये वडा नम्बर ४ को ईन्द्रदेव खङ्गकी १४ बर्षिया छोरी लक्ष्मी कुमारी खङ्ग र सोही ठाउँ बस्ने जयनारायण महतोको १५ बर्षिया छोरी राधा कुमारी महतोको तत्कालै स्थानीय हरी मुखियाले उद्धार गरेका थिए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरीको टोलीले नदीमा बेपत्ता अन्य बालिकाको खोजी गर्ने क्रममा करीब २ घन्टापछी दुई जना नाबालिकालाइ अचेत अवस्थामा फेला पारेको हो ।

टोलीले वडा नम्बर ४ को श्रवण महतोकी ८ वर्षीया छोरी प्रतिभा कुमारी महतो र सुरेश सदाकी ८ वर्षीया छोरी जितनी कुमारी सदालाई फेला पारी उपचारका राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरेको थिय‍ो ।

उनीहरुको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले जनाए ।

नदीमा बेपत्ता स्थानीय श्याम कुमार खङ्गको ८ वर्षीया छोरी काजल कुमारी खङ्गको खोजतलास भइरहेको उनले बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष जोगेन्द्र पासमानका अनुसार बेपत्ता नाबालिकाको खोजी आजका लागि स्थगित गरिएको छ । मंगलबार बिहानदेखि पून: खोजी कार्य तीव्र पार्ने उनी बताँउछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै