सप्तरी । मधेस प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीले देशको संस्कृति संरक्षण सम्बर्द्धन गर्नु सबैको उत्तरदायित्व भएको बताएका छन् । नेपाल कला र संस्कृतिमा धनी रहेकोले त्यसको संरक्षण सम्बर्द्धन गर्नुपर्ने बताएका हुन् ।
नेपाल सम्वत ११४५, न्हुँ दया भिन्तुना तथा राष्ट्रिय विभुत्ति शंखधर साख्वाको जन्मोत्सवको अवसरमा शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १२ मा नेवा: समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री लेखीले देशका सबै जातजाति, वर्ग समुदायले मनाउने संस्कृतिहरुको संरक्षण सम्बर्द्धनमा राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
नेवार समुदायले आफ्नो संस्कृति संरक्षण सम्बर्द्धनका लागि गरेको यस्ता कार्य गर्नु निकै प्रंशसनीय रहेको उनको भनाइ थियो ।
मन्त्री लेखीले सबै जातिको भाषा, धर्म, संस्कृति, चाडवाडको संरक्षण र विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले मधेशको विकासका लागि निकै महत्वपूर्ण योजना,निति तथा कार्यक्रमहरु प्रदेश सरकारले तर्जुमा गरेको र चाडैँ नै कार्यान्वयन ल्याउने तयारी गरेको बताए ।
विद्यालय, बाटोघाटो, समुदायिक भवन निर्माण, स्वास्थ्य संस्था सहितका योजनाहरु यस नगरबासीको सल्लाह र भावना अनुसार करोडौं बजेट विनियोजन गरेको उनको जिकिर छ ।
उनले तिहार,छठ, समाचकेवा लगायतका चाडवाड सकिनसाथ योजना कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
नेवा: समाज गुठी रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त कुमार मिश्र, नेवा:देय: दबूका केन्द्रीय सदस्य दक्षनारायण श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, वडा नम्बर १२ का अध्यक्ष देवी बहादुर खत्रीले अतिथिको रूपमा कार्यक्रमलाई शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा १२ की ९८ बर्षीया दुखलक्ष्मी श्रेष्ठ, वडा नम्बर ८ का ८६ बर्षीय फडिन्द्र कुमार श्रेष्ठलाई मन्त्री लेखीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नेवा: देय: दबू सप्तरीका अध्यक्ष मित्र नारायण श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत नेवा: समाज गुठी रुपनगरका सदस्य अमर श्रेष्ठले गरे ।
कार्यक्रममा नेवार समुदायका पोशाकमा सजिएका स्थानीय कलाकारहरुले नेवार समुदायको पहिचान झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।