वीरगन्ज । वीरगन्ज कारागारको पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घन्टामै भारतबाट पक्राउ परेका छन् ।
पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो ।
बिहीबार बिहान कारागारबाट फरार भएका तुरहालाई दिउँसो करिब १ बजे नियन्त्रणमा लिन प्रहरी सफल भएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईका अनुसार कारागारबाट फरार भएलगत्तै प्रहरीले सीसीटीभी फुटेजको अध्ययन र विभिन्न प्राविधिक उपकरणको विश्लेषण गरी उनको खोजी तीव्र पारेको थियो ।
प्राविधिक विश्लेषणबाट उनी भारतको आदापुर पुगेको पत्ता लागेपछि डीएसपी मल्लको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो ।
प्रहरीको विशेष टोलीले फरार भएको करिब पाँच घन्टाभित्रै उनलाई भारतबाट नियन्त्रणमा लिन सफल भएको एसपी भट्टराईले बताए ।
बिहीबार बिहान कारागारमा सरसफाइ भइरहेको समयमा पर्खाल नाघेर तुरहा फरार भएका थिए ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई उनी विगत ११ वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भोगिरहेका थिए ।
पोखरिया नगरपालिका स्थायी घर भएका तुरहा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजीका लागि विशेष टोली परिचालन गरेको थियो ।