ट्रेन्डिङ

प्रहरीको बदमासी छताछुल्ल : पोखरियामा ब्राउनसुगरसहित पक्राउ परेका मुख्य व्यक्ति रिहा, बेच्नेमाथि मात्रै मुद्दा, के भन्छ प्रहरी ?

वीरगन्ज । पर्सामा प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका मुख्य युवकलाइ रिहा गरेको घटना बाहिरिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले ब्राउनसुगरसहित पक्राउ परेका दुइजना युवकमध्ये एकजना मुख्य व्यक्तिलाई नै छाडेको घटना बाहिरिएको हो ।

प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका युवकले पोलेका व्यक्तिमाथि मात्रै मुद्दा चलाएको स्रोतको दाबी छ ।

घटना हो,गएको सोमबारको । यो दिन इलाका प्रहरी कार्यालयले २ सय मिलिग्राम ब्राउनसुगरसहित दुइजनालाइ पक्राउ गरेको थियो । तर दुइजना युवकमध्ये मुख्य व्यक्तिलाई रिहा गरेको तथ्य फेला परेको छ ।

उच्च स्रोतका अनुसार प्रहरीले पोखरिया नगरपालिकाको वडा नम्बर ४ का रितिक गिरी र वडा नम्बर १० निवासी गोविन्दा राउत कुर्मीलाई नियन्त्रणमा लिएको थियो ।

स्रोतले भन्यो–प्रहरीको विशेष टोलीले पोखरिया नगरपालिका वडा नम्बर ४ निवासी गिरीलाई पक्राउ गरेको थियो ।

यसरी सुरुमा पक्राउ परेका गिरीकै बयानका आधारमा प्रहरीले ब्राउनसुगर बेच्ने युवक पटेललाई नियन्त्रणमा लिएको स्थानीय स्रोतको भनाइ छ । एकरात प्रहरी नियन्त्रणमा रहेका मुख्य व्यक्ति गिरीलाई भने रिहा गरिएको खुलासा भएको छ ।

स्रोतका अनुसार सुरुमा पक्राउ परेका गिरीले आफ्नो पहुँचका आधारमा प्रहरीले छाडिदिएको गाउँमा बताउँदै आएको चियोचर्चा छ ।

यद्यपी, इलाका प्रहरी कार्यालय पर्साले भने यो आरोपलाई सिधै खण्डन गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुखसंग मधेससञ्चार डटकमले गएको सोमबार ब्राउनसुगरसहित कतिजनालाई नियन्त्रणमा लिइएको हो ? गरेको प्रश्नमा प्रहरी निरीक्षक (इन्सपेक्टर) भानुभक्त अर्यालले एकजनालाई मात्रै पक्राउ गरिएको बताए ।

उनका अनुसार त्यो दिन प्रहरीको विशेष टोलीलाई ब्राउनसुगर कारोबार बारे सूचना आएको थियो, सोही आधारमा एकजनालाई नियन्त्रणमा लिइएको हो । योबाहेक अरु कोही पनि पक्राउ नपरेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर अर्यालले जनाए ।

घटना बारे जिल्ला प्रहरी कार्यालय पर्साले पनि एकजना मात्रै पक्राउ परेका बताएको छ । प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार आफूहरुको सूचनामा एकजनालाई मात्रै नियन्त्रणमा लिइएको हो ।

यद्यपी, घटनाको वास्तविकताबारे सूक्ष्म अनुसन्धान गर्ने उनको प्रतिबद्धता छ । गिरीको संलग्नता भेटिए उनलाइ पनि कानुनी दायरामा ल्याइने प्रहरी प्रवक्ता मल्लले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै