ट्रेन्डिङ

बालेन सरकार ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद हरि पन्त

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले बालेन नेतृत्वको वर्तमान सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा विश्वास नगर्ने बताएका छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले वीरगन्जको टाउन हलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवसम्बन्धी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध विशिष्ट रहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई कुनै राजनीतिक कार्डका रूपमा नभई आपसी सम्बन्ध र सहकार्यका दृष्टिले हेर्नुपर्ने उनको अभिव्यक्तिको आशय थियो ।

सांसद पन्तले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, संस्कृति र चाडपर्वले दुई देशबीचको सम्बन्धलाई जीवन्त राखेको पनि बताए ।

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धले दुवै देशका नागरिकलाई नजिक बनाएको उनको भनाइ थियो ।

भारतीय महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँदिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले विभिन्न सांगीतिक प्रस्तुति दिएको थियो ।

टोलीको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई सांस्कृतिक र ऐतिहासिक महत्त्व प्रदान गरेको थियो ।

कार्यक्रममा महावाणिज्य दूत मीनाले भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को ऐतिहासिक पृष्ठभूमि तथा यसको महत्त्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै