ट्रेन्डिङ

स्वास्थ्य चौकी उद्घाटनमा झडप, बारामा गोली लागेर आदित्य पासवान घाइते

वीरगन्ज । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा गोली लागेर एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय आदित्य पासवान रहेका छन् ।

शनिबार बिहान स्वास्थ्य चौकी उद्घाटनको तयारी भइरहेका बेला विपक्षी समूहले कार्यक्रम रोक्न खोजेपछि विवाद सुरु भएको थियो ।

गाउँपालिका अध्यक्षसहितको टोली उद्घाटनका लागि पुगेपछि उत्पन्न विवादले उग्ररूप लिँदै दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

त्यसपछि प्रहरीले गोली चलाएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले बताए ।

उनका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

तर, घटनामा एक युवक गोली लागेर घाइते भएका छन् ।

पासवानलाई लागेको गोली कसले चलाएको हो भन्ने विषयमा भने यकिन हुन नसकेको उनले बताए ।

स्थानीयका अनुसार गोली लागेर घाइते हुने व्यक्ति सोही वडाका अजित पासवान हुन् । उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उद्घाटनका क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै विवाद भएको हो ।

घटनापछि उक्त क्षेत्रमा उत्पन्न परिस्थितिबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै