ट्रेन्डिङ

बैंकको सीएसआर रकमबाट जनताका साना समस्या समाधान गर्न पर्साका सांसद हरि पन्तको आग्रह

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं सांसद हरि पन्तले बैंक तथा वित्तीय संस्थालाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम समाजमा प्रत्यक्ष लाभ पुग्ने काममा खर्च गर्न आग्रह गरेका छन् ।

वीरगन्जस्थित कन्ट्री इन होटलमा ‘क’ वर्गका बैंकका प्रमुखहरूसँग भएको छलफलमा सांसद पन्तले गाउँघरमा सामान्य आर्थिक सहयोगबाटै धेरै नागरिकका समस्या समाधान गर्न सकिने भन्दै सीएसआरको रकम त्यस्ता काममा परिचालन गर्न आग्रह गरेका हुन् ।

उनले समाजमा सानो सहयोगको अभावमा नागरिकले ठूलो समस्या झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैंकहरूको सामाजिक उत्तरदायित्व कोषबाट गरिने सहयोगले विपन्न तथा समस्यामा परेका नागरिकलाई ठूलो राहत पुग्ने बताए ।

‘जनताले अपेक्षा गर्ने धेरै सहयोग सानो रकमबाटै पूरा गर्न सकिन्छ,’ पन्तले भने, ‘सांसदका रूपमा आफूले चाहेर पनि सानो रकमबाट तत्काल सहयोग गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरे सर्वसाधारणलाई ठूलो राहत मिल्न सक्छ ।’

घरदैलोका क्रममा आफूले गाउँबस्तीमा सानो लगानीबाटै प्रभावकारी परिणाम दिन सकिने थुप्रै सामाजिक काम देखेको पन्तले बताए ।

उनले ठूला परियोजनामा मात्रै ध्यान दिनुभन्दा स्थानीय आवश्यकता पहिचान गरेर साना तर प्रभावकारी काममा पनि लगानी गर्न बैंकहरूलाई आग्रह गरे ।

पन्तको आग्रहपछि छलफलमा सहभागी बैंकका प्रमुखहरूले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम निर्धारित क्षेत्रभित्र रहेर सामाजिक काममा खर्च गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ ले तोकिएको मापदण्ड पूरा गरेका उद्योग तथा प्रतिष्ठानले वार्षिक खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त रकम सामाजिक, वातावरणीय तथा विकासमूलक गतिविधिमा परिचालन गर्न सकिने कानुनी प्रावधान छ ।

छलफलमा नेपाल एसबीआई, सानिमा, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुखसहित प्राइम, हिमालयन, नबिल, एनएमबी, लक्ष्मी सनराइज, सिटिजन्स, एभरेस्ट, प्रभु र एनआईसी एसियालगायत बैंकका प्रमुखहरूको सहभागिता थियो ।

कृष्ण पासवानले सहजीकरण गरेको छलफलमा रास्वपा पर्साका क्षेत्रीय सभापति तेज सम्सेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति तथा महमादिन आलम र सम्साद आलमको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै