वीरगन्ज । नेकपा एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको सदस्यता खारेज गर्न माग गरिएको छ ।
सरावगी रास्वपा प्रवेश गरेको करिब १८ घण्टा नबित्दै पर्सा जिल्ला कार्यसमितिले उनको सदस्यता खारेजीको माग गर्दै पार्टीका केन्द्रीय महामन्त्रीलाई पत्र लेखेको हो ।
रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापतिले शुक्रबार केन्द्रीय महामन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।
पत्रमा सरावगीको नाममा पार्टीको सदस्यता जारी भएको विषयमा जिल्ला कार्यसमितिलाई कुनै जानकारी नभएको उल्लेख गर्दै सदस्यता खारेज गर्न अनुरोध गरिएको छ ।
‘पीआरएस १ ख ०००४३५७७६ नम्बरबाट सरावगीको नाममा रास्वपा सदस्यता जारी भएको छ ।
उक्त सदस्यताबारे जिल्ला कार्यसमितिलाई कुनै जानकारी छैन,’ पत्रमा भनिएको छ, ‘उनको सदस्यताउपर पर्साका अन्य पार्टी पंक्तिको असहमति रहेकाले सदस्यता खारेज गरिदिनुहुन अनुरोध छ ।’
सरावगीले बिहीबार राति करिब १० बजे सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
तर, पार्टी प्रवेश गरेको एक दिन पनि नबित्दै उनको सदस्यतालाई लिएर रास्वपा पर्साभित्रै असहमति देखिएको छ ।
जिल्ला कार्यसमितिले नै सदस्यता खारेजीको माग गर्दै केन्द्रलाई पत्र पठाएपछि सरावगीको पार्टी सदस्यताबारे विवाद उत्पन्न भएको छ ।
अब सरावगीको सदस्यताबारे केन्द्रीय नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ ।