वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने भन्दै सामाजिक सञ्जालमा आफैँ उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि पर्सा क्षेत्र नम्बर १ का सांसद एवं रास्वपा पर्साका सभापति हरि पन्तले आपत्ति जनाएका छन् ।
सांसद पन्तले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टीको विधि र विधानबाहिर गएर कसैले पनि उम्मेदवारीको टिकट लिन नसक्ने स्पष्ट पारेका छन् ।
उनले वीरगन्जवासीलाई सामाजिक सञ्जालमा भइरहेका यस्ता प्रचारबाजीबाट भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मेयर, उपमेयर र वडा अध्यक्षलगायतका उम्मेदवार बन्न पार्टीको आफ्नै विधि विधानअनुरूप क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमीलगायतका प्रक्रियाअनुसार मात्र हुने भएकोले कसैले पनि विधिभन्दा बाहिर गएर पार्टीको टिकट लिन नसक्ने हुँदा आम वीरगन्जवासीलाई कुनै प्रकारको भ्रममा नपर्न हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
पछिल्लो समय वीरगन्ज महानगरपालिकाको मेयर, उपमेयर तथा विभिन्न वडाका अध्यक्षलगायतका पदमा रास्वपाबाट उम्मेदवार बन्ने भन्दै सामाजिक सञ्जालमा व्यक्तिपिच्छे प्रचार गर्ने प्रवृत्ति बढेको छ ।
पार्टीको आधिकारिक निर्णय नहुँदै आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने क्रम दोहोरिन थालेपछि सांसद पन्तले सार्वजनिक रूपमै यस्तो सन्देश दिएका हुन् ।
यसअघि पनि सामाजिक सञ्जालमा रास्वपाबाट उम्मेदवार बन्ने भन्दै प्रचारबाजी बढेपछि पन्तले प्रेस विज्ञप्ति जारी गरेका थिए ।
त्यसबेला उनले पार्टीको औपचारिक प्रक्रिया पूरा नगरी कसैले पनि आफूलाई स्वतः उम्मेदवार घोषणा नगर्न आग्रह गरेका थिए ।
उक्त विज्ञप्तिपछि केही समय यस्तो प्रचारबाजी रोकिएको भए पनि पछिल्लो समय पुनः उम्मेदवारी घोषणा गर्ने क्रम बढेको पन्तको पछिल्लो स्टाटसले संकेत गर्छ ।
रास्वपाले स्थानीय तहका विभिन्न पदमा उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीलगायतका प्रक्रिया अपनाउने जनाएको छ ।
पार्टीको विधि र विधानअनुसार निर्धारित प्रक्रिया पूरा गरेर मात्रै उम्मेदवार बन्न सकिने पन्तको भनाइ छ ।
पन्तको पछिल्लो अभिव्यक्तिले पार्टीको आधिकारिक निर्णय आउनुअघि नै सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नेहरूलाई लक्षित गरेको छ ।
उनले पार्टीको नाममा भइरहेको प्रचारकै आधारमा कसैलाई आधिकारिक उम्मेदवार नमान्न वीरगन्जवासीलाई आग्रह गरेका छन् ।