वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सामा वडा अधिवेशन भोलि आइतबारदेखि हुने भएको छ ।
केन्द्रीय कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन गर्ने भनिए पनि आन्तरिक तयारी तथा क्रियाशील सदस्यताको विवरण सार्वजनिक हुन नसक्दा पर्सामा शनिबार अधिवेशन सुरु हुन सकेन ।
पर्साका ९६ वटै वडामा भोलि एकैपटक वडा अधिवेशन गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।
वडा अधिवेशनका लागि आवश्यक तयारी पूरा भइसकेको कांग्रेस पर्साले जानकारी दिएको हो ।
पर्सामा खटिएका कांग्रेस केन्द्रीय प्रतिनिधि भरत राउतका अनुसार शनिबार जिल्लाका शीर्ष नेतृत्वसँग छलफल गरी वडा अधिवेशन भोलि गर्ने गरी तयारी गरिएको छ।
उनले केन्द्रीय कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन गर्ने समय तोकिएको भए पनि पर्सामा केही आन्तरिक तयारी पूरा गर्नुपर्ने भएकाले शनिबारबाटै प्रक्रिया अघि बढाउन नसकिएको बताए ।
‘आज पर्साका शीर्ष नेतृत्वसँग छलफल गरेर आवश्यक तयारी पूरा गर्ने काम भएको छ । भोलिदेखि जिल्लाका सबै वडामा एकैपटक अधिवेशन गर्ने तयारी छ,’ राउतले भने ।
उनका अनुसार पर्साका क्षेत्र नम्बर १, ३ र ४ को क्रियाशील सदस्यताको नामावली प्राप्त भइसकेको छ । तर क्षेत्र नम्बर २ को क्रियाशील सदस्यताको नामावली अझै सार्वजनिक नभएकाले पनि शनिबार वडा अधिवेशन सुरु गर्न समस्या भएको हो ।
‘क्षेत्र नम्बर २ को क्रियाशील सदस्यताको नामावली अझै सार्वजनिक भएको छैन । त्यसैले आजबाट सबै वडामा अधिवेशन गर्न सक्ने अवस्था बनेन,’ राउतले बताए ।
कांग्रेसको केन्द्रीय कार्यतालिकाअनुसार देशभर वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला पर्सामा भने आन्तरिक तयारी र क्रियाशील सदस्यताको विवरणका कारण निर्धारित समयमा प्रक्रिया सुरु हुन सकेको थिएन ।
अब भने बाँकी तयारी पूरा गरेर भोलि जिल्लाका ९६ वटै वडामा वडा अधिवेशन गर्ने गरी कांग्रेस पर्साले तयारी अघि बढाएको छ ।
वडा तहबाट सुरु हुने अधिवेशनसँगै पर्सामा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको संगठनात्मक प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।