ट्रेन्डिङ

माछाको गाडी पास गराउने विषयमा झडप : वीरगन्जका रास्वपा वडासभापति पक्राउ

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरपालिका–२५ का वडासभापति प्रकाश साह पक्राउ परेका छन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले साहलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीका अनुसार तीन दिनअघि वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछा बोकेको गाडी पास गराउने विषयलाई लिएर दुई पक्षका माछा व्यवसायीबीच विवादपछि झडप भएको थियो ।

उक्त घटनामा घाइते भएका मनिष गुप्तासहितले दिएको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माछा व्यापारमा आफ्नो समूहको प्रभाव कायम गर्ने तथा सिन्डिकेट खडा गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

गत ३० गते आईसीपी परिसरमा भएको झडपपछि घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान थालेको थियो ।

सोही क्रममा साहलाई पक्राउ गरिएको डीएसपी मल्लले बताए ।

पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै