वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई क्यासिनो प्रकरणमा पक्राउ गरेपछि पर्सा प्रहरीको कारबाहीमाथि प्रश्न उठेको छ ।
वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा शनिबार राति प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले विशेष सूचनाका आधारमा क्यासिनोमा छापा मार्दा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा भेटिएको दाबी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
तर, यही घटनामा क्यासिनोभित्र प्रवेश गरेका भनिएका व्यक्तिमध्ये सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवालका सहयोगी उपेन्द्र यादव भने पक्राउ नपरेपछि प्रहरीको कारबाहीमाथि प्रश्न उठेको हो ।
स्रोतका अनुसार उपेन्द्र यादव पनि उक्त समयमा क्यासिनोभित्रै थिए ।
उनले क्यासिनोभित्र खिचेका केही तस्बिरसमेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यदि क्यासिनोभित्र प्रवेश गर्नु नै अनुसन्धान तथा नियन्त्रणमा लिनुपर्ने आधार हो भने उपेन्द्र यादवलाई प्रहरीले किन पक्राउ गरेन भन्ने प्रश्न अहिले उठेको छ ।
अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिइएको अवस्थामा सोही स्थानमा रहेका उपेन्द्र यादवमाथि भने तत्काल कुनै कारबाही नहुनुले प्रहरीको कारबाही छनोटपूर्ण त थिएन भन्ने प्रश्न उठेको हो ।
एउटै घटनामा कसैलाई पक्राउ, कसैलाई उन्मुक्ति?
प्रहरीले क्यासिनोमा नेपाली नागरिकहरू जुवा खेलिरहेको अवस्थामा फेला परेको दाबी गरेको छ ।
तर, क्यासिनोभित्र उपस्थित रहेका सबै जनामाथि समान ढंगले अनुसन्धान भएको हो कि होइन भन्ने विषय स्पष्ट हुन सकेको छैन ।
विशेषगरी उपेन्द्र यादव क्यासिनोभित्र रहेको देखिने तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा नलिनुको कारण के हो भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
यदि उनी क्यासिनोमा जुवा खेलिरहेका थिएनन् भने उनलाई पक्राउ नगरिनुको आधार के हो ? र यदि क्यासिनोभित्रको उपस्थितिमात्रै अनुसन्धानको विषय हो भने उनलाई अनुसन्धानको दायरामा किन ल्याइएन ? भन्ने प्रश्न उठेको छ ।
यादव क्यासिनोमा किन पुगे ? उनलाई कसले बोलायो ? र क्यासिनोमा रहेका केही समयमै उनीसहितका व्यक्तिलाई कसरी नियन्त्रणमा लिइयो ? भन्ने विषय पनि अनुसन्धानको महत्वपूर्ण पाटो बन्न पुगेको छ ।
‘सीसीटीभी अध्ययन भइरहेको छ’
उता, क्यासिनोभित्र रहेका सबै व्यक्तिमाथि समान अनुसन्धान भइरहेको दाबी प्रहरीले गरेको छ ।
क्यासिनोभित्र रहेका भनिएका उपेन्द्र यादवलाई पक्राउ नगरिएको विषयमा पर्साका डीएसपी चक्र मल्लसँग प्रश्न गर्दा उनले घटनास्थलको सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार क्यासिनोभित्र रहेका सबै व्यक्तिमाथि अनुसन्धान भइरहेको छ र अनुसन्धानबाट दोषी देखिए कानुनी कारबाही गरिनेछ ।
‘सीसीटीभी क्यामेराको अध्ययन भइरहेको छ । क्यासिनोभित्र रहेका सबैमाथि अनुसन्धान भइरहेको छ । दोषी देखिए सबैलाई कानुनी कारबाही हुन्छ,’ डीएसपी मल्लले भने ।
तर, प्रहरीको यही भनाइले अर्को प्रश्न जन्माएको छ—यदि सीसीटीभीको आधारमा क्यासिनोभित्र रहेका व्यक्तिहरूको पहिचान र भूमिकामाथि अनुसन्धान भइरहेको हो भने तस्बिर सार्वजनिक भएका उपेन्द्र यादवलाई अहिलेसम्म किन नियन्त्रणमा लिइएन?
प्रहरीको अनुसन्धानमाथि नै उठ्यो प्रश्न
क्यासिनो प्रकरणमा प्रहरीले कानुन कार्यान्वयन गरेको हो भने कारबाही व्यक्तिको राजनीतिक पहुँच, पद वा सम्बन्धका आधारमा फरक नहुनुपर्ने देखिन्छ ।
एकातिर बहालवाला गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जनालाई नियन्त्रणमा लिने, अर्कोतिर सोही क्यासिनोभित्र रहेको भनिएका तथा त्यहाँका तस्बिरसमेत सार्वजनिक भएका व्यक्तिलाई तत्काल नियन्त्रणमा नलिने अवस्थाले प्रहरीको कारबाहीमाथि स्वाभाविक प्रश्न खडा गरेको छ ।
यादव पक्षले घटनालाई राजनीतिक प्रतिशोधसँग जोडेर निष्पक्ष छानबिनको माग गरिरहेको अवस्थामा प्रहरीले भने सबैमाथि समान अनुसन्धान भइरहेको दाबी गरेको छ ।