जनकपुर। धनुषा प्रहरीले झाडीमा लुकाएर राखिएको अवस्थामा १०७ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री बाटोछेउको झाडीमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरिएको हो ।
आज राति करिब अढाइ बजे गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार मिश्रको कमान्डमा टोली खटिएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा झाडीमा लुकाएर राखिएका ९ वटा पोका फेला पारेको थियो ।
बरामद गाँजा तौल गर्दा १०७ किलो ९९८ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।