ट्रेन्डिङ

वीरगन्जमा अव्यवस्थित इन्टरनेट र केवलका तार हटाइँदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टेलिभिजन केवलका तार व्यवस्थापन गर्ने भएको छ।

महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्न लागेको हो।

अभियानअन्तर्गत वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चोकसम्म सडक तथा सार्वजनिक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका तार हटाएर व्यवस्थित गरिनेछ।

तार व्यवस्थापन अभियानलाई प्रभावकारी बनाउने विषयमा महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा सरोकारवाला सेवा प्रदायकहरूसँग बैठक बसेको थियो।

बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र १ वटा टेलिभिजन केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले नगर क्षेत्रमा जथाभावी रूपमा रहेका तार पहिचान गरी हटाउने तथा आवश्यक तारलाई व्यवस्थित गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले पटक–पटक बैठकमा बोलाउँदा पनि अनुपस्थित हुने तथा तार व्यवस्थापन अभियानमा सहयोग नगर्ने सेवा प्रदायक संस्थामाथि प्रचलित कानुन तथा महानगरको नियमअनुसार कारबाही गर्ने सहमति समेत भएको छ।

नगरको सौन्दर्य, सडक सुरक्षाका साथै विद्युत् तथा सञ्चार पूर्वाधारलाई व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

पहिलो चरणको अभियानपछि आवश्यकता र प्राथमिकताका आधारमा महानगरका अन्य क्षेत्रमा समेत अव्यवस्थित तार व्यवस्थापन गरिने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै