वीरगन्ज । हवाइ इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
भदौ २१ गते पक्राउ परेका ७ जनामध्ये ६ जनाको मंगलबार अबेरसम्म थुनछेक बहस भएपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार उमेश राना मगर र मन्द सिंह लामासँग जनही ४५ हजार रुपैयाँ तथा असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारसँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पेट्रोल पम्प सञ्चालक तथा घटनाका मुख्य आरोपित भनिएका सुनैन मियाँको हकमा भने मंगलबार कुनै आदेश भएको छैन ।
उनी अदालतमा हाजिर नभएकाले उनको थुनछेक बहस हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।
यसअघि भदौ २ गते अदालतले मियाँ बिरामी रहेको भन्दै पाँच दिनभित्र अनुसन्धान सकेर मुद्दा बुझाउन प्रहरीलाई आदेश दिएको थियो ।
अनुसन्धान नसकिए उनलाई बाहिर राखेर अनुसन्धान गर्नसमेत अदालतले आदेश दिएको थियो । सोही आदेशपछि मियाँ रिहा भएका थिए ।
प्रहरीले अनुसन्धान पूरा गरी अदालतमा मुद्दा बुझाइसकेको अवस्थामा समेत मियाँ भने अदालतमा हाजिर नभएको जनाइएको छ ।
उनको हकमा अदालतमा हाजिर भएपछि मात्रै थुनछेक बहस हुने बताइएको छ ।
हवाइ इन्धन चोरी प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
उनीहरूमाथि हवाइ इन्धन चोरी तथा त्यसमा संलग्न रहेको आरोपमा अनुसन्धान गरिएको थियो ।