ट्रेन्डिङ

मधेस सरकारको १ करोड ९६ लाखको राहत, प्रदेशका मृतक परिवारलाइ कति ?

जनकपुर। मधेस प्रदेश सरकारले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १ करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार ७ हजार थान कम्बल र ७ सय सेट टेन्ट उपलब्ध गराउने भएको हो ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै अर्थमन्त्री युवराज भट्टराईले बाढीमा परी मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवार वा नजिकका हकवालालाई राहत रकम उपलब्ध गराइने बताए ।

त्यस्तै, बाढीमा परी घाइते भएका मधेस प्रदेशका नागरिकको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिए ।

भट्टराईका अनुसार भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट हालसम्म मधेस प्रदेशका ४ जनाको मृत्यु भएको छ भने १ सय ६० जना सम्पर्कविहीन छन् ।

राहत सामग्री गृह मन्त्रालयमार्फत पठाइनेछ । नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार तथा प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिने प्रदेश सरकारले जनाएको छ ।

स्थानीय तहका कर्मचारीको सरुवा मापदण्ड स्वीकृत

मन्त्रिपरिषद् बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य र न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ समेत स्वीकृत गरेको छ ।

त्यस्तै, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा आवश्यक संशोधन गर्न तयार गरिएको संशोधन मस्यौदामाथि राय तथा परामर्श लिन प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै