ट्रेन्डिङ

बाढी–पहिरो पीडितका लागि वीरगन्ज हेल्थ केयरले दियो १० लाख

वीरगन्ज । रसुवासहित विभिन्न जिल्लामा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीका अनुसार शुक्रबार दिउँसो पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पतालले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

अध्यक्ष अन्सारीले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए ।

‘विपद्का कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ । हजारौँ परिवार प्रभावित भएका छन् । यस्तो पीडाको समयमा हामी मौन बस्न सक्दैनौँ । प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालका तर्फबाट १० लाख रुपैयाँ सहयोग गरेका हौँ,’ उनले भने ।

अन्सारीले बाढी–पहिरो प्रभावितको खोजी, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि भइरहेको सरकारी प्रयासमा निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्ने बताए ।

अस्पतालले आगामी दिनमा समेत विपद् प्रभावित नागरिकको उपचार तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै