वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।
महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको कल्भर्टनजिक नहरमा सोमबार राति अन्दाजी ४० वर्षीय भुलन रामको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।
पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार नहरमा शव देखिएपछि प्रहरीलाई सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाई कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक भुलन राम सोही वडाका स्थानीय बासिन्दा हुन्।
यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले शव पोस्टमार्टम गर्न नारायणी अस्पताल पठाएको जनाएको छ।
पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।