वीरगन्ज। बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा सोधपुछ गरिएका १६ वर्षीय किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल गराउने कार्यमा प्रहरीकै संलग्नता खुलेको छ।
भिडियो सामाजिक सञ्जालमा फैलिएपछि अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै मातहतका एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले अनुसन्धानका क्रममा बोलेको भिडियो प्रहरी हवल्दार कुमार विकले आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको पाइएको छ।
उक्त भिडियो साथीमार्फत सामाजिक सञ्जालमा फैलिएपछि व्यापक रूपमा भाइरल भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भिडियो बाहिरिनुको स्रोत पहिचान भएपछि हवल्दार विकलाई नियन्त्रणमा लिइएको एसपी कुँवरले बताए।
अनुसन्धानका क्रममा प्राप्त संवेदनशील विवरण तथा भिडियो बाहिर पठाएर गोपनीयता भंग गरेको विषयमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हवल्दार विकलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
गरिमा चौधरीको बलात्कार तथा हत्या घटनामा पक्राउ परेका १६ वर्षीय किशोरले अनुसन्धानका क्रममा घटनाबारे बोलेको भिडियो सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रहरीमाथि समेत प्रश्न उठेको थियो।
अनुसन्धानको संवेदनशील विषयसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको कार्यशैलीमाथि व्यापक आलोचना भएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा संकलन भएका संवेदनशील सामग्री अनधिकृत रूपमा बाहिरिन नदिनुपर्नेमा आफ्नै संगठनका कर्मचारीबाट भिडियो बाहिरिएको घटना सार्वजनिक भएपछि प्रहरीको गोपनीयता व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ।