वीरगन्ज । जनमत पार्टी पर्साले जिल्लाका सबै वडामा संगठन विस्तारसँगै वडा अधिवेशनलाई तीव्रता दिने निर्णय गरेको छ।
वीरगन्जस्थित माइस्थान अतिथि सदनमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गर्न प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो।
पर्यवेक्षकले सम्बन्धित वडामा संगठन विस्तार, अधिवेशनको तयारी तथा आवश्यक समन्वय गर्ने जनमत पार्टी पर्साले जनाएको छ।
बैठकमा वडा तहसम्म पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने तथा स्थानीयस्तरका जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल भएको थियो।
बैठकले निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गर्दै पार्टीलाई थप सक्रिय, संगठित र जनमुखी बनाउने निष्कर्ष निकालेको छ।
बैठकमा पार्टीको राजनीतिक समितिका सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहर प्रसाद साह, श्यामशंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनी तथा प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्रको उपस्थिति थियो।
त्यस्तै जिल्ला पदाधिकारीहरू नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, राजुराज गिरी, सत्युग साह र जमिला खातुन, युवा जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अञ्जना गुप्तासहित विभिन्न पालिकाका अध्यक्ष तथा पार्टीका नेता–कार्यकर्ताहरू बैठकमा सहभागी थिए।