वीरगन्ज । इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयले तानेको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कमजोरी देखिएको भन्दै उनलाई बिहीबार साँझ जिम्मेवारीबाट हटाइएको हो।
प्रहरी प्रधान कार्यालयले क्षेत्रीलाई सिमराबाट हटाएर उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाएको छ।
यस्तै, घटनापछि इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर प्रकाश थापालाई समेत जिम्मेवारीबाट हटाइएको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई प्रहरी नेतृत्वले गम्भीर रूपमा लिएपछि सिमराको प्रहरी कमान्ड परिवर्तन गरिएको हो।
घटनाको अनुसन्धान तथा प्रहरी परिचालनमा कमजोरी भएको निष्कर्षपछि डीएसपी र इन्स्पेक्टर दुवैलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतको भनाइ छ।