राजविराज । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीका क्रममा प्रहरी जवानले बोकेको एसएलआर राइफलबाट अचानक गोली चलेपछि अर्का प्रहरी जवान घाइते भएका छन्।
बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा खटिएका प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर राइफल असावधानीवश फायर भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार चलेको गोली कारागारको भित्तामा लागेको थियो।
भित्ताबाट उछिट्टिएको गोलीको टुक्रा लागेर २२ वर्षीय प्रहरी जवान अजय कुमार मोता कम्मरमाथिको ढाडतर्फ घाइते भएका हुन्।
घाइते मोतालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको स्वास्थ्य अवस्था निगरानीमा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।