वीरगन्ज। पर्सा प्रहरीले वीरगन्जमा साइकलमा आँप बेच्दै हिँडेका एक भारतीय नागरिकको साथबाट लागुऔषध ब्राउनसुगर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब ६ बजे महानगरपालिका–९ भुत बंगला नजिक सडकको पश्चिम पट्टी आँप बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले निगरानी तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा साइकलको पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको झोलाभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा ३० ग्राम ७१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागु औषधसहित भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर ग्राम पञ्चायत–४ का ३० वर्षीय गुड्डु आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनी हाल बीरगन्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार आलम साइकलमा आप बिक्री गर्ने क्रममा लागुऔषधसमेत ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
बरामद पदार्थ परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।