ट्रेन्डिङ

रास्वपा पर्सामा हरि पन्तको प्यानलको क्लिन स्वीप, नयाँ नेतृत्व पूर्णरूपमा संस्थापन पक्षको कब्जामा

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरूको प्यानलले एकलौटी जित हासिल गरेको छ।

सांसद हरि पन्त नेतृत्वको प्यानलले सबै प्रमुख पदमा विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको हो।

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार जिल्ला सभापति पदमा पन्त १६६ मतसहित निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए। पन्तले ४८ मतको अन्तरले जित दर्ता गरेका हुन्।

उपसभापति पदमा पनि पन्त समूहकै दिलीपकुमार कुर्मी विजयी भएका छन्।

कुर्मीले १६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रंदीप श्रीवास्तव ११४ मतमा सीमित भए।

सचिव पदमा सुदिशकुमार प्रजापतिले १६० मत ल्याएर विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी शिवकुमार साहले ११६ मत प्राप्त गरे।

त्यसैगरी सहसचिव पदमा कृष्णा पासवान निर्वाचित भएका छन्।

पासवानले १४९ मत प्राप्त गर्दा निरज कुमार साहले ११३ मत ल्याएका थिए।

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी सबैभन्दा बढी १६० मत प्राप्त गर्दै सर्वाधिक लोकप्रिय उम्मेदवार बनेकी छन्।

सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि विजयी भएका छन्।

निर्वाचनको अन्तिम परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ।

सबै प्रमुख पदमा एकै प्यानलका उम्मेदवार विजयी भएपछि पन्त समूहले संगठनभित्र आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै