वीरगन्ज। पब्लीक फिटनेस सेन्टर वीरगन्जको नवौं स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुसअप्स प्रतियोगिता सम्पन्न भएको छ।
वीरगन्जको लिंकरोडमा आयोजित प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय भएका छन्।
विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संघ र प्रदेश सरकार नपुगेका स्थानमा स्थानीय सरकार पुग्नुपर्ने बताए।
उनले शारीरिक अभ्यास स्वस्थ जीवनका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, खेलाडीहरू बेस आलम, सुजित यादव, अफताव आलम, खालिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा क्लबमा निरन्तर सहभागिता जनाउँदै योगदान पुर्याएका विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादवलाई सम्मानसमेत गरिएको थियो।
पब्लीक फिटनेस सेन्टर वीरगन्जका सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादवकी छोरी आहाना यादवले वार्षिकोत्सवको केक काटेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।
करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गरेका थिए।