वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
लिखत सम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको हो।
“पक्राउ पुर्जी जारी भएपछि उहाँ एक दिन अदालतमा उपस्थित हुनुभएको थियो।
त्यसपछि सम्पर्कविहीन रहँदै आउनुभएको थियो। विशेष अपरेशनमार्फत नियन्त्रणमा लिएका हौं,” एसपी पाठकले बताए।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा मेयर सिंहसहित तीन जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
उनीमाथि थप अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।