वीरगन्ज । भारतका प्रधानन्यायाधीशले युवापुस्तालाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सुरु भएको ‘कक्रोच जनता पार्टी (सीजेपी)’ अभियानलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।
सामाजिक सञ्जालमा तीव्र लोकप्रियता कमाइरहेको सीजेपीको एक्स (पूर्व ट्विटर) एकाउन्ट भारतमा अचानक बन्द गरिएको हो।
सीजेपीका संस्थापक अभिजीत दीपकेले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै एक्स एकाउन्ट भारतभित्र पहुँचविहीन बनाइएको बताएका छन्।
केही घण्टाअघिसम्म करिब दुई लाख नजिक पुगेको फलोअर्स संख्या रहेको एकाउन्ट अचानक बन्द भएपछि यसलाई लिएर राजनीतिक बहस चर्किएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) निकट दबाबका कारण एकाउन्ट हटाइएको आरोप लगाएका छन्।
यद्यपि, एक्स कम्पनी वा भारतीय सरकारी निकायले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
एक्स एकाउन्ट बन्द भए पनि सीजेपीको इन्स्टाग्राम पेज भने सक्रिय रहेको बताइएको छ।
इन्स्टाग्राममा भने यो अभियानले छोटो अवधिमै आश्चर्यजनक लोकप्रियता हासिल गरेको दाबी गरिएको छ।
पाँच दिनको अवधिमै लाखौं फलोअर्स जोडिएको भनिएको सीजेपी अभियानले भारतीय राजनीतिक वृत्तमा समेत तरंग सिर्जना गरेको छ।
व्यंग्य र प्रतिवादको शैलीमा अघि बढाइएको यो अभियान विशेषगरी युवापुस्तामाझ तीव्र रूपमा फैलिएको देखिएको छ।
सामाजिक सञ्जालमा अचानक उभिएको यो अभियानले भारतीय सत्तापक्षलाई असहज बनाएको टिप्पणीसमेत हुन थालेको छ।
