रौतहटमा तीन बालक बेपत्ता, खोजी कार्य जारी

रौतहट । रौतहटको कटहरिया नगरपालिकाबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन्।

सोमबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको जनाएको छ।

बेपत्ता हुनेमा कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार ‘किरायसिन’ का १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवनकुमार दास सरभंग रहेका छन्।

उनीहरू एउटै विद्यालयमा अध्ययनरत रहेका साथै एउटै कक्षामा पढ्दै आएका थिए।

परिवारका सदस्यहरूका अनुसार तीनै जना सोमबार विद्यालयबाट घर फर्किएपछि केही समयपछि “बाहिर खेल्न जान्छौँ” भन्दै घरबाट निस्किएका थिए।

त्यसयता उनीहरू परिवारको सम्पर्कमा आएका छैनन्।

साँझसम्म पनि घर नफर्किएपछि आफन्त तथा स्थानीयवासीले सम्भावित स्थानहरूमा खोजी थालेका थिए।

तर कुनै जानकारी नपाएपछि अभिभावकहरूले बालकहरूको फोटोसहित इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका हुन्।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले बालकहरूको हुलिया र तस्बिरसहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाइसकिएको जानकारी दिए।

उनका अनुसार खोजीका लागि नेपाल प्रहरी परिचालन गरिएको छ भने भारतीय प्रहरीसँग पनि समन्वय प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै