वीरगन्ज । वीरगन्ज महानगरपालिकामा सन्चालित मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु भएको छ ।
मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो ।
नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ।
अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ। साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिए ।
अनुगमनका क्रममा दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको थियो । आगामी दिनमा यस्ता काममा नाबालिकाको प्रयोग गरिएको पाइएमा कडा कारवाही गरिने चेतावनी समेत दिइएको उनको भनाइ छ ।
अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको पनि भुषालले जानकारी दिनुभयो। प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।
मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।
महानगरले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गर्ने जनाएको छ। साथै, नागरिकलाई शंकास्पद गतिविधिबारे जानकारी गराउन पनि आग्रह गरिएको छ।