काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्रीको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ ।
विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन लागि समिति बनाएको रास्वपाले जनाएको छ ।
उम्मेदवार छनोट कार्यदललाई ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ नाम दिइएको छ । सहमहामन्त्री आचार्य नेतृत्वको समितिमा केन्द्रीय सदस्य आरके ढुङ्गाना सचिव बनेका छन् ।
अन्य सदस्यहरुमा समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की छन् ।
उक्त समितिको बैठकले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने निर्णय गरेको छ । वैशाख १४ गते वडा तहमा छलफल गरेर पालिकामा सुझाव पठाउने निर्णय गरिएको छ ।
वैशाख १६ मा पालिकामा, १७ मा जिल्ला र १८ मा प्रदेश तहमा छलफल गरेर उपल्लो तहमा सुझाव पठाउने निर्णय भएको छ ।