रौतहट । गौरस्थित यातायात व्यवस्था कार्यालयबाट एक जना विचौलियालाइ प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीको काम छिटो गरिदिने भन्दै अनावश्यक झन्झट सिर्जना गर्ने, कागजात बोकेर विभिन्न फाँटमा घुमाउने तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने बहानामा प्रलोभन देखाउँदै आएको सूचनाको आधारमा बुधबार दिउंसो कार्यालयमा प्रहरी टोली खटिएको थियो।
सोही क्रममा कार्यालय परिसरभित्रैबाट गौर नगरपालिका वडा नम्बर ५ दोस्तिया टोल बस्ने ४० वर्षीय लक्ष्मी कुमार केशरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बतायो ।
प्रहरीले सेवाग्राहीलाई यस्ता बिचौलियाको प्रलोभनमा नपर्न र कुनै समस्या परेमा सिधै सम्बन्धित कार्यालय वा प्रहरीमा जानकारी गराउन अनुरोध गरेको छ।