वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा झण्डै दुई खर्ब रकम राजश्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा उक्त रकम बराबरको राजश्व संकलन गरेको हो । कार्यालयका अनुसार यो समयमा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैँया राजस्व सङ्कलन भएको हो ।
यो गत वर्षको सोही समयको तुलनामा १० प्रतिशतले बढी हो । अर्थात् गत वर्षको यहि समयमा कार्यालयले १६ अर्ब २० करोड रुपैँया संकलन गरेको थियो ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताए ।
भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने एक खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो ।
कुन महिनामा कति ?
वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी चैतमा राजश्व संकलन गरेको आँकडा छ । अर्थात् चैतमा २२ अर्ब ८२ करोड रुपैँया संकलन भएको उनले बताए ।
यसैगरी मंसिरमा २० अर्ब ८० करोड, भदौमा २० अर्ब ७३ करोड र फागुनमा १९ अर्ब ३४ करोड रुपैँया संकलन भएको कार्यालयको रेकर्ड छ ।
यस्तै असोजमा १९ अर्ब ९ करोड, माघमा १८ अर्ब ९२ करोड, साउनमा १८ अर्ब ४४ करोड राजश्व संकलन गरेको विष्टले बताए ।
त्यसैगरी कात्तिकमा भने १७ अर्ब ३३ करोड रुपैँया संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको नौ महिनामा लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ ।