जनकपुर । पछिल्ला केही दिनयता बढ्दो तापक्रमका कारण विशेषगरी मधेस प्रदेशका जिल्लाहरूमा गर्मी अत्यधिक बढ्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्र, विशेषतः मधेसका भू–भागमा तातो हावा ‘लु’ चल्ने जोखिम बढेको छ।
सोमबार दिउँसो सार्वजनिक गरिएको तथ्याङ्कअनुसार कपिलवस्तु मा तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ भने बाँके मा ३९ डिग्री सेल्सियस मापन गरिएको छ। मधेस प्रदेशसहित तराईका अधिकांश क्षेत्र, उपत्यका र खोँचहरूमा दिनदिनै गर्मी तीव्र बन्दै गएको विभागले जनाएको छ।
यस्तै सोमबार दिउँसो वीरगन्जको समेत तापक्रम ३५ डिग्री मापन गरिएको थियो ।
मौसमविद् सञ्जिव अधिकारी का अनुसार बुधबारसम्म मधेस प्रदेशलगायत तराई क्षेत्रमा तातो हावाको लहर जारी रहने सम्भावना छ। उनका अनुसार कोशी क्षेत्रमा केही बादल देखिएकाले त्यहाँ तत्काल ‘लु’ को जोखिम कम भए पनि मधेस र पश्चिम तराईमा भने जोखिम उच्च छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिमसँग जोडिएका तराई भू–भाग हुँदै मधेसका जिल्लाहरूमा समेत ‘लु’ को प्रभाव फैलिन सक्ने चेतावनी दिइएको छ। यसले जनजीवनमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा ले जलवायु परिवर्तनका कारण ‘लु’ जस्ता चरम मौसमी घटना बढ्दै गएको बताएका छन्। उनले समयमै तयारी, सचेतना र पूर्वसावधानी अपनाउन विशेष जोड दिएका छन्।
सतर्क रहन आग्रह :
गर्मी बढेर ‘लु’ को सम्भावना बढेसँग स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले मधेसका नागरिकलाई दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा झोलिलो पदार्थ बढी खान, बाहिर निस्कँदा छाताको ओढ्न तथा टाउको छोपेर मात्र बाहिर निस्कन र अत्यधिक गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष हेरचाह गर्न आग्रह गरेको छ ।
त्यसैगरी, खेतबारीको काम बिहान वा बेलुका मात्र गर्न, मदिरा तथा क्याफिनयुक्त पेय पदार्थ कम सेवन गर्न र शरीरलाई चिसो राख्ने उपाय अपनाउन पनि सुझाव दिइएको छ।