वीरगन्ज । सीमा क्षेत्रमा १ सय रुपैयाँसम्मको किनमेलमा कर लगाउने सरकारी निर्णय कार्यान्वयन गर्नु सशस्त्र प्रहरीको बाध्यता भएको मधेश प्रदेश प्रमुख कृष्ण ढकालले बताएका छन् ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर वीरगन्जको १९औँ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । “यो निर्णय सशस्त्र प्रहरी वा स्थानीय प्रशासनको होइन, राज्यको हो, त्यसैले कार्यान्वयन गराउनु हाम्रो जिम्मेवारी हो,” उनले भने ।
उनले यो निर्णय व्यवहारिक नभएको संकेत गर्दै यसबारे माथिल्लो निकायसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए ।
ढकालले सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एउटा निकाय समस्यामा पर्दा अर्कोले पनि साथ दिनुपर्ने उल्लेख गरे । जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाबीच राम्रो समन्वय हुनुपर्नेमा उनको जोड छ ।
उनले पदले जिम्मेवारी सम्झाउने र तक्माले इमान्दार भएर काम गर्न प्रेरित गर्ने भन्दै सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनामा इमान्दार बन्नुपर्ने बताए ।
डिआईजी ढकालले संविधानसभाको निर्वाचनमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए ।
उनले सञ्चारमाध्यम र व्यवसायीलाई व्यवहारिक समाधानका लागि आवाज उठाउन पनि आग्रह गरे ।
कार्यक्रम गणपति मोहन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने सुरक्षाकर्मी, अमर प्रहरीका परिवार र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।