वीरगन्ज । यहि बैशाख १५ गतेदेखि सर्लाहीमा हुने नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी थालिएको छ ।
आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे बताएको हो । प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सव १७ गते अर्थात् तीन दिनसम्म चन्द्रनगर गाउँपालिकामा हुनेछ ।
महोत्सवमा ग्रामीण परिवेशमा बनेका सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषीका चलचित्र प्रदर्शन गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुतिसहित तीन दिनको कार्यक्रममा चलचित्र प्रदर्शनी, चलचित्र क्षेत्रका विज्ञसँग अन्तरक्रिया र उत्कृष्ट चलचित्रलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको उनले बताए ।
गोरखा, काभ्रे, रामेछाप र रसुवापछि अब पाँचौँ संस्करण मधेसमा गर्न लागिएको आयोजकले बताएको छ । यसले मधेसको पर्यटन प्रवर्धन तथा स्थानीय सम्पदाको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।