वीरगन्ज । बिहारको राजनीतिमा ठूलो मोड आएको छ।
नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अब सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
नितिश कुमारले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राजीनामा दिएको जानकारी सार्वजनिक गर्दै आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले आगामी सरकारलाई पूर्ण सहयोग र मार्गनिर्देशन दिने प्रतिबद्धता पनि जनाएका छन्।
उनले आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए सरकार गठन भएदेखि राज्यमा कानुनको शासन स्थापित भएको र विकासका काम निरन्तर अघि बढाइएको उल्लेख गरेका छन्।
शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि लगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले महिला र युवाका लागि पनि धेरै योजनाहरू कार्यान्वयन गरिएको बताएका छन्।
यसैबीच, नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (वीजेपी) ले विधायक दलको नेतामा सम्राट चौधरीलाई चयन गरिसकेको छ।
यससँगै चौधरी अब बिहारको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।
पछिल्लो समय बीजेपीको समर्थनमा सरकार चलाइरहेका नितिश कुमारले राजीनामा दिएसँगै बिहारमा नयाँ नेतृत्वसहित सरकार गठनको प्रक्रिया अघि बढेको छ।