वीरगन्ज । पर्सा जिल्लामा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत उत्तरपुस्तिका जाँच प्रक्रिया आजैदेखि सुरु गरिएको छ ।
पहिलो दिन सम्पन्न अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएलगत्तै कपी परीक्षण कार्य अघि बढाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्साका अनुसार जिल्लाभित्रै चारवटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका जाँच सुरु गरिएको छ ।
इकाइका प्रमुख मोतीप्रसाद भट्टराईले नृसिंह मावि, सिद्धार्थ मावि, श्री नेरामवि श्रीपुर र त्रिजुद्ध माविलाई परीक्षण केन्द्र तोकिएको जानकारी दिए ।
उनका अनुसार हाल ५५ जना विषयगत शिक्षकहरू कपी परीक्षणमा संलग्न छन् ।
“आज सम्पन्न अंग्रेजी विषयको कपी तीन दिनभित्रै जाँच गरेर राष्ट्रिय परीक्षा बोर्ड मा पठाइनेछ,” भट्टराईले बताए ।
यस वर्ष पर्सा जिल्लाभरबाट १० हजार ७ सय ३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।
जिल्लामै कपी जाँच गर्ने नयाँ व्यवस्थाले नतिजा प्रकाशन प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने जनाइएको छ ।