ट्रेन्डिङ

प्रधानमन्त्री बालेनसंगको भेटमा पर्सा सांसद पन्तले भने- वीरगन्जमा किन नेपालीलाई क्यासिनोमा अवैध प्रवेश ? प्रशासन किन मौन ?

अरु के-के बोले ?

वीरगन्ज । पर्सा–१ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सासँग सम्बन्धित विभिन्न गम्भीर जनसरोकारका मुद्दाहरू उठाएका छन्।

बुधबार काठमाडौंस्थित सिंहदरबारमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटका क्रममा सांसद पन्तले सिर्सिया नदी प्रदूषण, मल अभाव, वीरगन्जमा क्यासिनोमा भइरहेका अवैध गतिविधि तथा महानगरको अवैध असुलीका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा उनले सिर्सिया नदीमा बढ्दो प्रदूषण तत्काल नियन्त्रण गर्न अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

उनले सरकार समस्या समाधानतर्फ गम्भीर हुनुपर्ने धारणा राख्दै नदी संरक्षणमा ढिलाइ गर्न नहुने बताए।

त्यसैगरी उनले कृषि क्षेत्रमा देखिएको मल अभावको समस्या पनि उठाउँदै किसानलाई आवश्यक समयमा पर्याप्त मल उपलब्ध गराउन सरकार जिम्मेवार हुनुपर्ने बताए।

वीरगञ्जका क्यासिनोहरूबारे बोल्दै सांसद पन्तले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराएर आर्थिक शोषण भइरहेको आरोप लगाए।

यस विषयमा प्रहरी प्रशासन मौन बसेको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरेका थिए।

यसैगरी उनले वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखी अवैध असुली गरिरहेको विषय पनि प्रधानमन्त्री समक्ष राखेका थिए।

सो विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले समस्या समाधानमा गम्भीरता नदेखिएको गुनासो गरे।

सांसद पन्तले उठाएका विषयहरू सुनेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसलाई गम्भीरतापूर्वक लिँदै तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई निर्देशन दिने बताएका छन्।

साथै, जनप्रतिनिधिले उठाएका जायज मागहरूलाई स्थानीय प्रशासनले बेवास्ता गर्न नमिल्ने स्पष्ट पारे।

उक्त भेटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत मधेस प्रदेशका सांसदहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै