वीरगन्ज । वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसमा उत्पन्न विवाद साम्य बनेको छ ।
पर्साका सिडिओ भोला दाहालले क्याम्पस प्रमुख र सञ्चालकलाई ‘नालायक’ व्यवस्थापन भनेपछि झण्डै ९ घण्टापछि छलफलले निष्कर्ष निकालेको हो ।
सहमति नहुने र आन्दोलन चर्किने संकेत पाएपछि सिडिओ दाहालले छलफलका क्रममा कडा शब्द प्रयोग गर्दै व्यवस्थापनको आलोचना गरेका थिए ।
विद्यार्थीहरुसामु नै क्याम्पस सञ्चालकलाई कडा टिप्पणी गरेपछि दुबै पक्ष सहमतिमा पुगेका हुन् ।
आन्दोलनरत विद्यार्थी र क्याम्पस पक्षबीच तत्काल विरोध कार्यक्रम नगर्ने गरी तीन बुँदे सम्झौता भएको छ ।
जसअनुसार स्थगित कक्षा ११ र १२ को आन्तरिक परीक्षा तत्काल सञ्चालन गर्ने, घाइते विद्यार्थीहरुको उपचार क्याम्पसले गर्ने र विद्यार्थीका समस्या तथा अन्य विषयमा मंगलबार पुनः छलफल गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लामो छलफलपछि उक्त सहमतिसँगै विवाद मत्थर भएको सिडिओ दाहालले बताएका छन् ।
विहान के भएको थियो ?
आइतबार बिहान ८ बजेदेखि ‘प्लस टु’ का विद्यार्थीहरू आन्तरिक परीक्षा दिन क्याम्पस पुगेका थिए ।
परीक्षा हलमा प्रवेश गरिसकेपछि क्याम्पस प्रशासनले अचानक सूचना जारी गर्दै परीक्षा तथा पठनपाठन स्थगित गरेको जानकारी गरायो ।
यसपछि आक्रोशित विद्यार्थीहरूले नाराबाजी र प्रदर्शन सुरु गरे ।
प्रदर्शनका क्रममा प्रहरी क्याम्पस परिसरमा प्रवेश गरेपछि अवस्था झन् तनावग्रस्त बनेको थियो ।
झडपमा केही विद्यार्थी घाइते भएका छन् भने क्याम्पसका सवारी साधनमा समेत तोडफोड भएको जनाइएको छ ।
विवाद के हो ?
जिल्ला प्रशासन कार्यालयका अनुसार क्याम्पस प्रशासन र शिक्षकबीचको आन्तरिक विवाद नै मुख्य कारण रहेको छ ।
शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै परीक्षा बहिष्कार गरेका थिए ।
सिडिओ दाहालका अनुसार शिक्षकहरू अनुपस्थित भएपछि क्याम्पसले परीक्षा स्थगित गरेको हो ।
क्याम्पस प्रमुख रविन्द्र यादवले पनि शिक्षकहरू नआएपछि परीक्षा स्थगित गर्नुपरेको बताएका छन् ।
उनले मंगलबारदेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।