ट्रेन्डिङ

वीरगन्जको प्रभु अस्पतालका चिकित्सक मनोज गुप्तालाई कारबाही, बिरामीको मृत्यु प्रकरणमा ६ महिना ‘प्रोबेसन’मा राख्ने निर्णय

वीरगन्ज। वीरगन्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनामा संलग्न चिकित्सकमाथि कारबाही गरिएको छ।

नेपाल मेडिकल काउन्सिल ले अस्पतालमा कार्यरत चिकित्सक डा. मनोजकुमार गुप्तालाई ६ महिनासम्म अन्य चिकित्सकको निगरानीमा रहेर मात्रै काम गर्नुपर्ने गरी ‘प्रोबेसन’ कारबाही गरेको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देव का अनुसार ११ र १२ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

उनका अनुसार शल्यक्रियामा संलग्न चिकित्सकसँग गरिएको प्रत्यक्ष बयान तथा विषय विज्ञको रायका आधारमा डा. गुप्तालाई ६ महिनासम्म स्वतन्त्र रूपमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो।

बिरामीको मृत्यु कसरी भयो ?

बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीमा समस्या देखिएपछि १४ कात्तिक २०८० मा उपचारका लागि वीरगन्जस्थित प्रभु हस्पिटल पुगेका थिए।

परिवारका अनुसार अस्पतालका चिकित्सक डा. मनोजकुमार गुप्ताले आवश्यक परीक्षण तथा रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न लगाएका थिए।

सोही दिन शल्यक्रिया गरी पित्तथैली निकालिएको बताइए पनि त्यसको परीक्षण रिपोर्ट भने परिवारलाई उपलब्ध गराइएको थिएन।

शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि परिवारले अन्य अस्पतालमा उपचारका लागि लगेका थिए।

त्यहाँ गरिएको परीक्षणका क्रममा पित्तथैलीसम्बन्धी उचित जाँच नगरी शल्यक्रिया गरिएको र त्यसका कारण भित्री अंगमा क्यान्सर फैलिएको चिकित्सकले जानकारी दिएको परिवारको भनाइ छ।

लगातार उपचारका क्रममा सुरेश शाहको ३२ साउन २०८१ मा मृत्यु भएको थियो।

घटनापछि मृतकका परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिल मा उजुरी दिएका थिए।

सोही उजुरीको छानबिनपछि काउन्सिलले चिकित्सकको लापरबाही देखिएको निष्कर्ष निकाल्दै डा. गुप्तामाथि अनुशासनात्मक कारबाही गरेको हो।

घटनापछि प्रभु अस्पतालमा उपचार प्रणाली र चिकित्सकीय अभ्यासबारे पनि प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै