वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मधेसमा मनाइने होली पर्व लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको छ ।
होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो। पर्सा प्रहरीका अनुसार होली खेल्न भिडभाड जम्मा हुने स्थानमा ब्यापक संख्यमा प्रहरी परिचालन गर्ने सुरक्षा रणनीति तयार पारेको जनाइएको छ ।
पर्साका प्रहरी प्रवक्ता डिएसपी राजु कार्की जिल्लामा होली पर्वलाई लक्षित गर्दै जिल्लाभरि विशेष सुरक्षा अवलम्बन गरिएको जनाए ।
आपराधिक गतिविधिलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित तरिकाले होली खेल्ने वातावरण मिलाउन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको उनले बताए ।
उनका अनुसार बढी भिडभाड हुने स्थानहरू, जिल्ला प्रवेश गर्ने नाकाहरु, मुख्य सडक तथा सहायक सडकहरु, चोक तथा गल्लीहरुमा व्यापक संख्यामा प्रहरी खटाइने प्रहरीको रणनीति छ ।
प्रहरीले पैदल गस्ती, कर्डन, सादा पोशाक, स्ट्राइकिङ, पिकेटिङ, रिजर्भ गरी ३६३ जना सुरक्षाकर्मीहरु परिचालित गरिने डिएसपी कार्कीले बताए । यस्तै प्रहरी निरिक्षकको कमाण्डमा जिल्लाभर १० वटा मोबाइल गस्तीमार्फत निगरानी गरिने उनको भनाइ छ ।
परवानीपुरदेखि शंकराचार्य गेटसम्म नै सिसिटीभी क्यामरा मार्फत निगरानी गरिने जनाउँदै डिएसपी कार्कीले भने, ‘परवानीपुरदेखि नै मुख्य सडकहरुमा सिसिटीभी क्यामरा छन्, हामी कन्ट्रोल रुमबाटै सबै निगरानी गर्नेछौँ । योपटक नयाँ अभ्यासबाट सुरक्षा प्रत्याभूति दिलाउने प्रयत्न गर्छौ, त्यसैले काही कतैपनि कसैले उच्ंछृङखल गतिविधि देखाए केही मिनेटको अवधिमै त्यहाँ प्रहरी पुग्नेछ ।’
उनका अनुसार मुख्य सडकमात्रै नभई सहायक सडक तथा गल्लीहरुमा समेत प्रहरीको सिसिटीभी क्यामराबाट निगरानी भइरहेको छ ।
प्रहरीका अनुरोध के–के छन ?
१. होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाऔँ ।
२. नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेलौं ।
३. होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगरौं, अपरिचित मानिसहरूको समुहमा होली नखेलौं ।
४. कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाऔं, नछ्यापौं ।
५. महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं ।
६.अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखाऔं ।
७. ट्राफिक नियमको पुर्ण रूपले पालना गरौ, आफु बचौ र अरूलाई पनि बचाऔं ।
८. मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं ।
९. अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुव्र्यवहार नगरौं ।
१०. रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
११. ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा डिजे को प्रयोग नगरौं ।
१२. भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट गर्ने जस्ता घटना बढी हुने हुँदा सावधान रहौं ।
१३.कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नं. १०० वा प्रहरी कन्ट्रोल–१००, ,९८५५०९०१३६, ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।