वीरगन्ज । वीरगन्जमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगञ्ज महानगरपालिकाले तीव्र बनाएको छ।
प्रतियोगिता तय भएको नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न अहिले रातदिन नभनी मर्मत तथा निर्माण कार्य भइरहेको छ।
तयारीको अवस्था बुझ्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह स्वयं मैदानमा खटिएका छन् । शनिबार राति करिब १० बजे मैदान पुगेका मेयर सिंहले निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै सम्बन्धित टोलीलाई काममा थप गति दिन निर्देशन दिए ।
निरीक्षणका क्रममा उनले खेलकुदमार्फत वीरगञ्जको पहिचान र गरिमा बढाउनुपर्ने उल्लेख गर्दै तयारीमा कुनै कमजोरी नहुने स्पष्ट पारे ।
मैदानको मुख्य पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीहरूको अभ्यासका लागि थप पिच आवश्यक परेपछि नयाँ पिच निर्माणको काम सुरु गरिएको छ। मुख्य पिचको पश्चिमतर्फ रहेको खाली स्थानमा माटो भरेर नयाँ पिच तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ। रातको समयमा समेत पिच निर्माण र मैदान सम्याउने कार्य जारी छ।
प्रतियोगिता नजिकिँदै जाँदा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन तथा प्राविधिक तयारीलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ। चिसो मौसमका बाबजुद पनि राति १०–११ बजेसम्म मेयर स्वयं उपस्थित भएर अनुगमन गर्दा निर्माण टोली र स्थानीय खेलप्रेमीहरू उत्साहित देखिएका छन्।
पिएम कप क्रिकेट प्रतियोगिताले वीरगञ्जलाई पुनः क्रिकेटको केन्द्र (हब) का रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।