बीरगन्ज । पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बडा दसैँका अवसरमा जिल्ला प्रहरी कार्यालयको परिसरस्थित मन्दिरमा मौलो पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।
प्रहरी प्राङ्गणमा रहेको दुर्गा भगवतीको मन्दिरमा एसपी ढुंगेलले विधिवतरुपमा मौलो पूजा गरेका हुन । शुक्रबार विहान साढे आठ बजे एसपी ढुंगेलले मौलो पूजा गरेका हुन ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी उपरीक्षक ढुंगेलले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाएका हुन् ।
उक्त अवसरमा प्रहरी उपरीक्षक ढुंगेल तथा प्रहरी अधिकृतहरू लगायत प्रहरी जवानहरुले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र ईष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिइन्छ ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।
नेपाल प्रहरीले विक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडा दसैँ र चैते दसैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।