वीरगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेला सम्पन्न भएको छ ।
प्याब्सनका पर्सा अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष किशोर गौतमको प्रमुख अतिथ्यतामा शनिबार भेला सम्पन्न भएको हो ।
‘लेट अल द प्राइभेट एन्ड बोर्डिङ स्कुल बि युनाइटेड’ भन्ने मूल नारासहित आयोजित भेलालाई सम्बोधन गर्दै वक्ताहरूले प्याब्सन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गुणस्तर, अनुशासन र निरन्तर मेहनतको प्रशंसा गर्दै यस्ता उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना गर्ने बताए ।
निजी विद्यालयहरूको एकता, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थी हित तथा शिक्षा क्षेत्रका समसामयिक चुनौतीबारेमा चर्चा भएको भेलामा प्याब्सनका जिल्ला तथा प्रदेशस्तरीय पदाधिकारी, निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलाले निजी विद्यालयहरूबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको आयोजकले बताएका छन् ।
विद्यालय तथा शिक्षक/शिक्षिका सम्मानित
कार्यक्रममा २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याएका ३ वटा विद्यालय सम्मान गरिएको छ ।
एकै विद्यालयबाट ४ जिपिए ल्याउन सफल गौतम माध्यमिक विद्यालय र १०० प्रतिशत नतिजा ल्याउन सफल मस्कोट एकेडेमीलाई विशेष सम्मान प्रदान गरिएको हो ।
प्याब्सन पर्साले भेलाकै अवसर पारेर छोटो अवधिमै उत्कृष्ट काम गरेको प्याब्सन वीरगञ्जलाई सम्मान गरेको हो । आयोजकका अनुसार निजी विद्यालयहरूको समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो ।
त्यस्तै १० वर्ष वा सोभन्दा बढी समय एउटै विद्यालयमा शिक्षण सेवा दिने शिक्षक–शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो ।
३० जना शिक्षक तथा शिक्षिकालाई दिर्घ सेवा सम्मान २०८२ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
सम्मानित हुने प्रमुख शिक्षक–शिक्षिकाहरूमा ३१ वर्ष निरन्तर सेवा गरेकी सुशिला शेर्पा डी.ए.भी. आरबी केडीया स्कुल,४० वर्ष निरन्तर सेवा गरेका रामनरेश पाण्डे आदर्श माध्यमिक विद्यालय, २६ वर्ष सेवा गरेका सिपेन्द्र गुप्ता (गौतम माध्यमिक विद्यालय), १५ वर्ष सेवा गरेका रमेश कुमार चौधरी (विद्या सागर विद्यालय) लगायत रहेका छन् ।

सम्मानले शिक्षण पेशाप्रति सम्मान, निष्ठा र निरन्तरताको सशक्त सन्देश छरिएको सम्मानितहरुले बताए ।
कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे तथा समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल लगायतले शिक्षा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले निजी तथा संस्थागत विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए ।
उनीहरूले घोकन्ते, रटन्ते शैली भन्दा उत्प्रेरित बनाउने जिवनोपयोगी शिक्षा तर्फ जोड दिए । शिक्षण पेसामा सम्पूर्ण जीवन दिएका शिक्षकशिक्षिकाहरुको पेशापछिको जिवन सहज बनाउने तर्फपनि सचेत हुनुपर्ने आवश्यकता औंल्याएका थिए।
