ट्रेन्डिङ

श्री नेरामावि सिमराको ६८ औँ वार्षिकोत्सव : विज्ञान प्रदर्शनी देखि एआइ रोबोट, सम्मान, पुरस्कार तथा फुड फेस्टिभल सम्म

पूर्व विद्यार्थीले गरे आर्थिक सहयोग घोषणा

बारा । बाराको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरा मावि) सिमराको ६८ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

बिहीबार उद्घाटन गरिएको वार्षिकोत्सवको दोश्रो तथा अन्तिम दिन शुक्रबार विज्ञान प्रदर्शनी, एआइ रोबोट, फुड फेस्टिभल, पूर्व विद्यार्थी भेला, र सम्मान सहित औपचारिक रुपमा समापन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरणका साथ सक्षम जनशक्ति उत्पादनमा  विद्यालयको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

उनले स्थानीय सरकार विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोगी रहने जनाउँदै सिमरालाई शैक्षिक हबका रूपमा विकास गर्न नेरा माविको योगदान महत्वपूर्ण रहेको बताए ।

उपप्रमुख भोला प्रसाद अधिकारीले प्रयाप्त भौतिक पूर्वाधार तथा विभिन्न संकायको पठनपाठनका कारण जीतपुरसिमराका विद्यार्थीहरूलाई अध्ययनका लागि वीरगञ्ज जानुपर्ने बाध्यता हटेको बताए ।

बारामा पहिलो पटक कक्षा ११/१२ सञ्चालन गरेको यस विद्यालयले वार्षिक १ लाख ५० हजार रुपैयाँ अनुदानबाट निरन्तरता दिएको स्पष्ट पारे । अभिभावकहरूको सक्रिय सहभागिताका कारण विद्यालयमा विद्यार्थी संख्या दिनानुदिन वृद्धि हुँदै गएको समेत उनको भनाइ थियो।

कार्यक्रममा विज्ञान प्रदर्शनी तथा फुड फेस्टिभलको आयोजना  गरिएको थियो । विद्यालयका विद्यार्थीले तयार पारेको बोल्न सक्ने एआइ रोबर्टले सबैलाई चकित बनाएको थियो ।

वार्षिकोत्सवको अवसरमा गरिएको पूर्व विद्यार्थी भेलामा पूर्व विद्यार्थीका तर्फबाट बोल्दै शालिकराम अधिकारीले विद्यार्थीहरूको बहुआयामिक विकासका लागि वार्षिकोत्सवजस्ता कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताए।

उनले विद्यार्थी लक्षित कार्यक्रमहरू वार्षिक क्यालेन्डर बनाएर सञ्चालन गर्न सुझाए । साथै २०५५ सालका पूर्व विद्यार्थीहरूले विद्यालयलाई १ लाख रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीले व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक शंकर आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको समारोहमा  विद्यालयमा योगदान दिनेहरुलाई कदरपत्रद्वारा सम्मान गरियो ।

वार्षिकोत्सको अवसर पारेर सञ्चालन गरिएको साताव्यापी खेलका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, विद्यालयका शिक्षक–शिक्षिका, शुभचिन्तक, अभिभावक तथा विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै